पहिलो महिला मुख्यसचिव बनेर गड्तौलाले रचिन इतिहास

काठमाडौं: सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।

गड्तौलालाई एक महिनाका लागि भए पनि मुख्यसचिव नियुक्त गरिएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । निजामती क्षेत्रको इतिहासमा २६ जना मुख्यसचिवले प्रशासनिक कमाण्ड सम्हाल्दा पहिलो पटक महिलाले नेतृत्व पाएको हो ।

५८ वर्ष उमेर हदका कारण कामु मुख्यसचिवको भूमिकामा गड्तौलाले भदौं १५ गतेसम्म मात्र काम गर्न पाउनेछिन् । २०७७ कात्तिक २७ गते न्याय सेवा कानुन समूहको सचिवमा बढुवा भएकी उनी ३ वर्ष १० महिना नेपाल सरकारको विशिष्ट श्रेणीमा रहेर काम गर्न पाउनेछिन् । ३ वर्ष ८ महिना सचिवको भूमिकामा काम गरेकी गड्तौलाले त्यसपछि निमित्त मुख्यसचिव र कामु मुख्यसचिवको समेत जिम्मेवारी प्राप्त गर्न सफल भएकी हुन् ।

गड्तौलाभन्दा तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनारायण अर्याल, अर्जुनप्रसाद पोखरेल, उदयराज सापकोटा र मधुकुमार मरासिनी वरिष्ठ सचिव भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वरिष्ठ सचिव भएकाले उनले निमित्त र कामु मुख्यसचिवको जिम्मेवारी पाएकी हुन् ।

२०५२ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गरेकी गड्तौला २०६३ कात्तिक ३ गते उपसचिव भइन् । २०७० माघ ९ गते सहसचिव बनेकी उनी २०७७ कात्तिक २७ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी हुन् । त्यस्तै २०८१ असार ९ गते निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी गड्तौला असार ३१ गते कायममुकायम मुख्यसचिव बन्न सफल भएकी छिन् ।

Comments (0)
Add Comment