काठमाडौँ: पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका बिरुवा उत्पादनमा प्राथमिकता दिएको छ । व्यावसायिक किसानलाई पशुपालनमा सहज बनाउन कार्यालयले बर्सेनि डाँलेघाँसका बिरुवा निःशुल्क रुपमा वितरण गर्दै आएको हो ।
किसानको मागअनुसार राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीलगायत डाँलेघाँसका साथै अन्य विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष उत्पादन गरिएका ८५ हजारमध्ये ३० हजार बढी डाँलेघाँसका बिरुवा उत्पादन गरिएको छ ।
चार वर्षअघि दश लाख, तीन वर्ष अघि आठ लाख, दुई वर्षअघि छ लाख २५ हजार र गत वर्ष एक लाख बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण गरिएको थियो ।
जिल्लामा पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएपछि घाँसका बिरुवा उत्पादनमा जोड दिन थालिएको डिभिजन प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो । किसानको मागका आधारमा कार्यालयले प्रत्येक वर्ष डाँलेघाँसका बिरुवा उत्पादन गरेर वितरण गर्ने योजना बनाएको छ ।