काठमाडौँ: गत आर्थिक वर्ष २०८०/८१ मा पर्वतमा एक सय ९५ उद्योग, व्यवसाय फार्म दर्ता भएकामा दुई सय ३६ वटा बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार गत आवमा ९४ उद्योग दर्ता भएकामा एक सय सात खारेज भएका छन् । एक सय एक वाणिज्य फार्म दर्ता भएकामा एक सय २९ फार्म खारेज भएको कार्यालय प्रमुख अशोककुमार नेपालीले जानकारी दिए ।
पर्वतमा आर्थिक वर्ष २०७९/८० सम्म तीन हजार चार सय २६ उद्योग र तीन हजार दुई सय ७५ वाणिज्य फार्म रहेकामा आव २०८०/८१ को अन्त्यमा घटेर तीन हजार चार सय १३ उद्योग र तीन हजार दुई सय ४७ वाणिज्य फार्म कायम रहेको कार्यालय प्रमुख नेपालीले बताए । एकै वर्षमा ४७ उद्योग बन्द भएका छन् ।
आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग बन्द हुने क्रम बढेको छ । उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुरवि पौडेलले बताए । व्यापार व्यावसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुनेक्रम बढेको उनको भनाइ छ ।