“नेपालमा पहिलोपटक नेपाली भाषामा डोमेनयुक्त वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक, युए ह्याकाथन २०२५ सम्पन्न”

काठमाडौँ : काठमाडौंमा सम्पन्न युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ कार्यक्रमले नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र इन्टरनेट करपोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) को सहकार्यमा आयोजित यस कार्यक्रममा इन्टरनेट पहुँचमा समावेशिता र नेपाली भाषाको प्रवर्द्धनमा महत्वपूर्ण कदम चालिएको छ।

 

 

‘क्यान.संगठन’ वेबसाइटलाई डोमेन नेम सिस्टममा नेपाली भाषाको औपचारिक उपस्थितिको सुरुवातका रूपमा लिइएको छ, जसले सरकारी र सार्वजनिक सेवामा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ। युनिभर्सल एक्सेप्टेन्स अवधारणाअनुसार, कुनै पनि प्रणालीले स्थानीय भाषामा लेखिएको डोमेन र ईमेल ठेगाना स्वीकार गर्नुपर्ने हुन्छ, जसले स्थानीय भाषाभाषीहरूलाई इन्टरनेट सेवामा जोड्न मद्दत गर्नेछ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली डोमेनको प्रयोगले भाषा, पहिचान र पहुँचको संरक्षण हुने उल्लेख गर्दै यो कदमले डिजिटल नेपाल निर्माणमा समेत योगदान दिने विश्वास व्यक्त गरिन्। सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले अंग्रेजीमा दक्ष नभएका करिब ७० प्रतिशत नेपालीहरू अझै इन्टरनेट पहुँचबाट टाढा रहेको उल्लेख गर्दै, नेपाली भाषामा डोमेन तथा ईमेल ठेगाना उपलब्ध गराउनाले उनीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत गर्ने बताए।

कार्यक्रम सूचना प्रविधि विभाग, नेपाल सरकार; युनेस्को; एपीएनआईसी; नेपाल इन्टरनेट एक्सचेन्ज; वर्ल्डलिंक कम्युनिकेसन्स; माभोरियन सिस्टम; हिकोल कलेज; र होरियन इन्टरेक्टिभ बोर्डको सहकार्य र सहयोगमा सम्पन्न भएको थियो। नेपाल इन्टरनेट एक्सचेन्जका सीईओ रुपेश श्रेष्ठले स्थानीय भाषा र सर्भरमार्फत डोमेन सञ्चालन गर्दा स्क्याम नियन्त्रण र प्रमाणिकता बढ्ने उल्लेख गरे।

Comments (0)
Add Comment