काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको भन्दै मलेसियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा उनले निजी क्षेत्रबाट लगानी गर्न अनुकूल वातावरण रहेको बताए। “नेपालमा लगानीमैत्री नीति रहेका छन्। लगानीका क्षेत्र पहिचान गरी तयारीसाथ अघि बढ्नुस्, सरकार पूर्ण सहयोग गर्न तयार छ,” अर्थमन्त्री पौडेलले भने।
उनका अनुसार नेपालले भौतिक पूर्वाधार, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसर प्रदान गर्छ। प्रतिनिधिमण्डलमा रहेका लगानीकर्ताले सूचना प्रविधि, जलविद्युत, व्यापार, पूर्वाधार, वातावरण र पर्यटनजस्ता क्षेत्रमा चासो व्यक्त गरेका थिए।
मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायतको उपस्थिति रहेको सो भेटमा नेपाल–मलेसिया बीचको आर्थिक सहकार्य अझ सशक्त बनाउन आवश्यक पहलका विषयमा छलफल भएको थियो।