नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन

काठमाडौँ :  देशव्यापीरुपमा परेको भारी वर्षासँगै पानीजन्य रोगको प्रकोप बढेको छ । डेंगुका बिरामीको संख्या पनि ह्वात्तै बढेको छ। डेंगुका कारण एकजनाको मृत्युसमेत भइसकेको अवस्था छ।

यस्तो विपत्तिका बेला आमनागरिक स्वयं सचेत हुनुको विकल्प छैन। सरकारले पनि समयसापेक्ष कुन ठाउँमा बढी जोखिम छ र त्यस भेगका नागरिकलाई कसरी सचेत गराउने भन्ने विषयमा गम्भीर हुनु जरुरी छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कति मानिसमा सरुवा रोग लाग्यो र कतिको मृत्यु भयो भन्ने तथ्यांक राख्ने र सरकारले यसैका आधारमा समयमै यस्तो खालको सरुवा रोग बढ्न सक्छ भन्ने पूर्व अनुमान गरी सोही अनुसारको नीति, नियम र व्यवस्थापन गर्नुपर्छ।

संघीय सरकारको प्राथमिकतामा परेको काठमाडौंमा २ सय ८७, कास्कीमा १ सय ३७, झापामा १ सय ३३, चितवनमा १ सय १६ र तनहुँमा १ सय १० जनामा डेंगु देखिएको छ । यसका साथै दुई साताअघिदेखि फैलिएको हैजाबाट ३० जना संक्रमित भइसकेका छन्। ललितपुरमा मात्र १९ जनामा हैजा संक्रमण पुष्टि भएको छ। कैलालीमा ८, प्युठानमा २ र काठमाडौँमा १ जनामा हैजा संक्रमण पुष्टि भएको छ। हैजा अशुद्ध तथा दिसा मिसिएको पानीबाट फैलिएको पुष्टि भएको छ।

Comments (0)
Add Comment