नयाँ संविधानबाट बालेन, रवि र हर्कहरुको उदय भयोः झक्कु सुवेदी

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तथ्यलाई अहिले हल्लाले छोपेको बताउनु भयो । उहाँले पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभइ नयाँ संविधानले उनीहरुलाई जन्माएको बताउनु भयो । उहाँले शिर उठाउने गणतन्त्र र समानुपातिक निर्वाचन प्रणालीले लामिछाने, बालेन र हर्कहरुलाई निर्वाचित गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कसैले के भन्छन् भने नयाँ पार्टी आए । किन नयाँ पार्टी आए रे भने जनता पुराना पार्टीसँग रिसाएर नयाँ पार्टी आयो रे । तर मलाई त्यस्तो लाग्दैन । हामी समस्या आइसकेपछि समाधान खोज्नेतिर जानुपर्छ । तथ्यलाई अहिले हल्लाले छोपेको छ । तथ्यले के भन्छ भने बालेन आए, हर्क आए, रविहरु आए । तर उनीहरुले भोट पाए, चुनाव जिते पुराना पार्टीहरुसँगको निराशाले होइन । बालेन, हर्क र रविहरु नयाँ संविधानले जन्माएका हुन् । यदी यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुवार्नीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरुको यहाँ उपस्थिति देखिँदैन थियो ।’
उहाँले गणतन्त्रले जनताको शिर उठाएको बताउनु भयो ।

Comments (0)
Add Comment