नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच सम्झदारी: ग्राहकलाई १०% छुट र स्वास्थ्य सेवा सुविधा

काठमाडौँ : नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताअनुसार, नबिल बैंकका ग्राहकहरूले भारतस्थित अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको विशेष छुट र व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन्।

 

समझदारी पत्रमा नबिल बैंकका प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका प्रबन्ध निर्देशक (कानून) सुशील कुमार चापागाईँले हस्ताक्षर गरेका छन्। यस सहकार्यले नबिल बैंकका ग्राहक, कर्मचारी र सेयरधनीहरूलाई भारतमा उपचारका लागि आवश्यक परामर्श र सुविधाहरू उपलब्ध गराउने उद्देश्य राख्दछ।

ग्राहकहरूले नबिल बैंकका डेबिट तथा क्रेडिट कार्ड, नबिल क्यूआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा सो छुट र सेवा प्राप्त गर्नेछन्। यो सम्झौता दुई वर्षसम्म लागू हुने जनाइएको छ।

अपोलो इन्फर्मेसन सेन्टर अपोलो अस्पताल इन्टरप्राइजेज लिमिटेड भारतको आधिकारिक प्रतिनिधि संस्था हो, जसले दक्ष स्वास्थ्यकर्मी र अनुभवी उद्यमीहरूसहित काठमाडौँको नक्सालमार्फत सेवा प्रवाह गर्दै आएको छ।

नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो, जसले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ।

Comments (0)
Add Comment