“दैनिक १६० उजुरी, बढ्दो अपराध र सुरक्षाको चुनौती”

 दैनिक १६० उजुरी, ७ जनाको सवारी दुर्घटनामा मृत्यु — प्रहरी तथ्यांकले देशको अपराध र सुरक्षाको चिन्ताजनक तस्वीर देखायो

काठमाडौं, १८ साउन — नेपाल प्रहरीको तथ्यांकले मुलुकमा अपराध र दुर्घटनाका घटना अत्यन्त चिन्ताजनक दरमा बढिरहेको देखाएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै देशभर ५८ हजार ४७२ वटा अपराधका उजुरी दर्ता भएका छन्, जसले दैनिक औसत १६० उजुरी पार गरेको छ।

उजुरीको आधारमा सबैभन्दा धेरै अपराध काठमाडौं उपत्यकामा भएको देखिन्छ, जहाँ मात्र १६ हजार ५७५ उजुरी प्रहरीमा दर्ता भए। त्यसपछि मधेस प्रदेशमा ९,५९९, कोशीमा ९,४६१, लुम्बिनीमा ७,४६६, बागमतीमा ५,३३३, गण्डकीमा ४,११५, सुदूरपश्चिममा ३,९३६, र कर्णालीमा सबैभन्दा कम १,९८७ उजुरी दर्ता भए।

बैंकिङ कसुर र आत्महत्या शीर्ष अपराध

देशभर सबैभन्दा बढी उजुरी पर्ने अपराध बैंकिङ कसुर सम्बन्धी आर्थिक अनियमितता हो, जसमा एक वर्षमै १३ हजार ८८७ उजुरी परेका छन्। यसको आधाभन्दा बढी, ५८ प्रतिशत, काठमाडौं उपत्यकाबाट दर्ता भएको हो।

त्यस्तै, सार्वजनिक हितविरुद्धको अपराध ८,५१९ उजुरीसहित दोस्रो स्थानमा छ भने आत्महत्याका घटनाले समाजको मानसिक स्वास्थ्यप्रति गम्भीर प्रश्न उठाएको छ। एक वर्षमा ६ हजार ८५२ जनाले आत्महत्या गरेका छन्। लागुऔषध, चोरी, ठगी, जबरजस्ती करणी, सवारी ज्यान, ज्यान मार्ने उद्योग र बहुविवाहजस्ता अपराधहरू पनि उल्लेखनीय दरमा बढेका छन्।

सवारी दुर्घटनामा वर्षभर २,६४९ को मृत्यु

प्रहरी प्रवक्ता विनोद घिमिरेले आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रस्तुत गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०८१/८२ मा देशभर २८ हजार ६९२ वटा सवारी दुर्घटना भए। ती दुर्घटनामा २,६४९ जनाले ज्यान गुमाए भने ४४ हजारभन्दा बढी घाइते भए।

दैनिक ७९ दुर्घटना हुने र ७ जनाको ज्यान जाने औसत बनिसकेको छ। त्यसमध्ये ५८ प्रतिशत दुर्घटना मोटरसाइकलबाट भएको देखिएको छ। ट्राफिक नियम उल्लंघन गर्ने १६ लाख १६ हजार चालकलाई कारबाही गरिएको छ र १ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ।

प्रहरी संगठनमा जनशक्ति अभाव, ४७३५ पद खाली

नेपाल प्रहरीमा हाल कुल ७९,५४१ दरबन्दीमध्ये ४,७३५ पद खाली छन्। हाल ७४,८०६ जनशक्ति कार्यरत छन्, जुन कुलको ९४.०५ प्रतिशत हो। सिनियर अफिसरको अनुपात २.८४ प्रतिशत मात्र रहेको छ भने निरीक्षक तहमा १५.३५ प्रतिशत जनशक्ति छन्।

गत वर्ष प्रहरी सेवाबाट २,३६९ जनाले राजीनामा दिएका छन्। त्यसमध्ये ४०१ जना सिनियर अफिसर तहका छन् भने बाँकी १,९४९ जना अन्य दर्जाका प्रहरी हुन्। अनिवार्य अवकाश पाउने ५२३ जना छन्।

प्रहरीभित्रै ३,७५३ उजुरी

आफ्नै संगठनभित्र प्रहरीविरुद्ध पनि ३,७५३ उजुरी परेको छ, जसमा ३,०५३ मुद्दा फछ्र्योट भएका छन् र ७०० मुद्दा हाल अनुसन्धानमा छन्। त्यसैगरी, १२,०२२ प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।

संगठनको लक्ष्य : व्यावसायिकता र जवाफदेहिता

प्रवक्ता घिमिरेले प्रस्तुतिमा प्रहरी संगठनको व्यावसायिकता, जनताको सुरक्षाप्रति जिम्मेवारी र सुधारको लक्ष्यलाई स्पष्ट पारे। उनले भने, “संगठनको सुदृढीकरण, प्रहरीको व्यावसायिकता, र नागरिकप्रतिको उत्तरदायित्व सुनिश्चित गर्न हामी क्रियाशील छौं।”

 

Comments (0)
Add Comment