काठमाडौँ : काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) नजिकका व्यक्तिहरू राजनीतिक दल दर्ताका अन्तिम तयारीमा जुटेका छन्। उनले पहिले ‘उज्यालो नेपाल’ नामक दल गठन गर्ने चर्चा चले पनि ऊर्जामन्त्री कुलमान घिसिङसँग छलफल निष्कर्षमा नपुगेपछि नयाँ विकल्प अगाडि बढाइएको स्रोतहरू बताउँछन्।
बालेन सचिवालयका एक सदस्यका अनुसार कुलमान घिसिङको टिमसँग पटक–पटक समन्वय गरिए पनि पारदर्शिता र निर्णय प्रक्रियामा अस्पष्टता देखिएपछि सहकार्य सम्भव नभएको हो। उनका शब्दमा, “घिसिङतर्फबाट नागरिकतादेखि कागजातहरू मागियो, तर हाम्रो टोली त्यहाँ पुगेन। नाम, नेतृत्वलगायत विषयमा एकल निर्णय गरेपछि हामी फर्कियौँ।”
यसपछि बालेन निकट टिमले ‘देश विकास पार्टी’ नाममा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी थालेको छ। सुदीप ढकाल संयोजक बन्ने चर्चा छ भने ‘लौरो’ चुनाव चिह्न प्रस्ताव गरिएको बताइन्छ। तर उक्त चिह्न अहिले ‘हामी नेपाली पार्टी’सँग दर्ता भएकाले परिवर्तनको सम्भावना खुला छ।
सचिवालयकै एक अन्य सदस्यका अनुसार, “परिस्थिति हरेक घण्टा फेरिँदैछ। तर दल दर्ताको तयारी भने तीव्ररूपमा जारी छ।” ढकालले पनि राजनीतिक गतिविधिमा संलग्नताको सम्भावना खुला रहेको स्वीकार गरेका छन्। उनका अनुसार मुख्य मुद्दा भनेको पारदर्शिता र जवाफदेहिता हो, जुन घिसिङतर्फको छलफलमा स्पष्ट देखिएन।
जेनजीको एजेन्डा प्रमुख
ढकालका अनुसार जेनरेसन–जेडको माग सम्बोधन गर्न सक्ने, वैकल्पिक राजनीतिक शक्ति निर्माण आवश्यक छ। “यदि कसैले युवाको मुद्दा बोकेर अघि बढेन भने, कोही न कोहीले पार्टी खोल्नै पर्छ,” उनले भने।
उनले जेनजीहरू जहाँ सक्रिय छन्, त्यहाँ आफूहरूको समर्थन रहने बताए। “यदि घिसिङसँग सहमति भयो र जेनजीले समर्थन गरे, हामी पनि जान तयार छौँ,” उनले स्पष्ट पारे।
घिसिङ टिममा ‘सन्तोष गिरी’ पठाइएको थियो
मेयर बालेनले नियुक्त गरेका सहरी योजना आयोगका सहायक विज्ञ सन्तोष गिरीलाई घिसिङतर्फ पठाइएका थिए। जेनजी आन्दोलनमा सक्रिय गिरीले वैकल्पिक नेतृत्व निर्माणका कार्यक्रम चलाउँदै आएका छन्। तर पार्टीको नाम, नेतृत्व र दिशा–निर्देशनमा मतभेद भएपछि उनी पनि फिर्ता भएका हुन्।
रातोपाटीले बालेन सचिवालयका १० भन्दा बढी सदस्यसँग बुझ्दा सात जनाले नयाँ दल दर्ताका तयारी चलिरहेको पुष्टि गरेका छन्।
बालेनको भूमिका
स्रोतका अनुसार बालेनले प्रत्यक्ष निर्वाचनमा सहभागी नहुने तर नयाँ पार्टीलाई स्पष्ट रूपमा समर्थन गर्ने योजना बनाएका छन्। जेनजी आन्दोलनले उठाएका मुद्दा बोकेर अघि बढ्नुपर्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्।
“बालेन पाँच वर्ष मेयरकै भूमिकामा रहने अडानमा छन्। तर यो जनमत बोकेर जाने वैकल्पिक पार्टी चाहिने भएपछि उनको पूर्ण समर्थन रहनेछ,” दल निर्माण प्रक्रियामा रहेको एक सदस्यले बताए।