काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले देशमा रोजगारीको ठूलो समस्या रहेको भन्दै रोजगारी सिर्जना गर्न उद्योगी व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ ।
शनिवार जनधपुरमा श्रमाधान मेलाको उद्घाट गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशभरको तुलनामा मधेस प्रदेशमा रोजगारीको समस्या विकराल रहेको बताउनु भयो । उहाँले रोजगारको खोजिमा युवा पुस्ता भौंतारिरहेको अवस्थालाई हेरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । उहाँले मेलाले श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देशमा आज रोजगारीको ठूलो समस्या छ । रोजगारको खोजिमा युवा पुस्ता भौंतारिरहेको छ । स्वदेशमा रोजगारी नहुँदा सानो सुविधामै विदेश जानुपर्ने बाध्यात्मक अवस्था छ । यसलाई कम गर्दै जानुपर्छ । त्यसैले हामीले यो श्रमाधान रोजगार मेला शुरु गरेका छौँ । यो मेलाले तत्काल कति रोजगारी दिन्छ भन्ने भन्दा पनि रोजगारदाता कम्पनीहरु खोज्न आवश्यक छ ।’
मन्त्री अर्यालले देशको युवापुस्ता बाध्य भएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको भन्दै देशको श्रमबजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो ।