देशमा ओलीकै विकल्प छैन, जनताको मनमा एमाले पहिलो पार्टी : शंकर पोखरेल

ललितपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओली नै राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र समृद्धिको मुख्य विकल्प भएको दाबी गरेका छन्।

गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ओलीको नेतृत्वमा मात्रै मुलुकले कठिन चुनौती पार गरेको स्मरण गराए।
उनले भने, “संसदमा एमाले दोस्रो ठूलो दल भए पनि जनताको मनमा एमाले नै पहिलो पार्टी हो। देशमा ओलीको विकल्प छैन।”

हालै ७० वर्ष उमेर सीमा तोकिएको नियमलाई ओलीका लागि मात्र नभएको भन्दै पोखरेलले उमेरभन्दा बढी नेतृत्व क्षमता र राजनीतिक दृष्टिकोण नै मुख्य हुने बताए। उनका अनुसार, ओलीले राष्ट्रलाई कठिन समयमा मार्गदर्शन गर्ने क्षमताको प्रमाण पहिल्यै प्रस्तुत गरिसकेका छन्।

भारतले गरेको नाकाबन्दी ओलीकै नेतृत्वमा दृढतापूर्वक सामना भएको भन्दै उनले थपे,
“कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा प्रकाशित गर्ने साहस ओलीबाहेक कसैले गर्न सकेन। ढिलोचाँडो छिमेकी मुलुकहरूले पनि यस विषयलाई स्वीकार्नै पर्छ।”

कार्यक्रममा उनले पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रसंगसमेत उठाए। पोखरेलले संवैधानिक संसदीय व्यवस्थामा राष्ट्रपतिको छुट्टै हैसियत हुने उल्लेख गर्दै, पूर्वराष्ट्रपतिले सधैं मर्यादा र सम्मानमा रहनुपर्ने बताए।
उनले थपे, “पार्टीले आफ्ना नेताप्रति सम्मान प्रकट गर्न कहिल्यै कमी गरेको छैन।”

स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज राजन भट्टराईले पार्टीभित्र निराश हुने अवस्था नरहेको बताए ।

‘२०७९ को तुलनामा अहिलेको परिवेश अनुकूल हुँदै गएको छ । व्यक्तिगत दम्भ र जुँगाको लडाइँ त्यागेर फराकिलो छाती बनाएर पार्टी एक भए विजय सुनिश्चित हुनेछ,’ भट्टराईले भने ।

नगर कमिटी अध्यक्ष विक्रम घिमिरेले विधान महाधिवेशन गोदावरीमै हुनु नगरवासीका लागि सुखद भएको बताए ।

कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य बाबुराम थापा, बागमतीका कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल, सांसद प्रेमबहादुर मर्हजन, ललितपुर-१ इन्चार्ज रुपनारायण श्रेष्ठ, प्रदेश सांसद प्रेमभक्त मर्हजन र रघुनाथ महर्जन, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यलगायत थिए ।

Comments (0)
Add Comment