काठमाडौँ: संसारभर एकाएक फैलिएको कोरोना महामारी सङ्क्रमणका कारण सबैभन्दा बढी थला परेको फिल्म क्षेत्र पनि एक हो । चाहे हलिउड होस् चाहे बलिउड वा नेपाली चलचित्र क्षेत्र कोभिडका कारण निकै प्रभावित हुन पुग्यो ।
सिने क्षेत्र तहसनहस अवस्थामा मात्र पुगेन संसारभरका लाखौँले रोजगारी गुमाउन पुगे । सयौँ सिनेमा घरहरू कोरोनाकै कारण बन्द भएका छन् । नेपाली चलचित्र क्षेत्र पनि कोभिडबाट अछुतो रहन सकेन ।
तर पछिल्लो तीन महिनादेखि हलहरूको व्यवसाय राम्रो रहेको चलचित्र महासंघका अध्यक्ष नरेन्द्र महर्जनले बताए । कुराकानीका क्रममा अध्यक्ष महर्जनले नेपाली सिनेमाहरूले बक्स अफिसमै राम्रै फड्को मारिरहेकाले व्यवसाय पनि राम्रो चलिरहेको बताए ।
उनले भने, ‘अहिले आएर विगत तीन महिनादेखि नेपालको सिनेमा हलहरू राम्रो लयतर्फ फर्किएका छन् । धेरै वर्षदेखि हलहरूको अवस्था राम्रो थिएन । लगातार तीन, चार महिनादेखि सिनेमाहरूको एउटा बक्स अफिस पनि राम्रो भएकाले सिनेमा हलहरूको अवस्था राम्रो छ ।’
महर्जनका अनुसार पहिलेको तथ्याङ्क अनुसार लगभग ४ सय ५० हलहरू सञ्चालनमा रहेका थिए भने अहिले आएर १६० देखि ६५ वटा मात्र हलहरू सञ्चालनमा रहेका छन् । उनले २८० वटा हलहरू बन्द अवस्थामा रहेको बताए ।
उनले पहिला सुदूरपश्चिममा २१ वटा हल रहेको बताउँदै अहिले जम्मा एक मात्र सञ्चालनमा रहेको बताए । साथै कर्णाली प्रदेशमा पनि एक मात्र हल रहेको बताए । बागमती प्रदेशमा ८१ वटा हलहरू बन्द भएको अवस्था छ भने कोशी प्रदेशमा ४९, मधेस प्रदेशमा पनि ४९ वटा हलहरू बन्द छन् ।