काठमाडौँ: पर्वतको मोदी गाउँपालिका–६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग नदिएपछि स्थानीय बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका हुन् ।
डिमुवा–तिलाहार–थामर्जुङ सडकको स्तरोन्नतिका लागि स्थानीय मोदी गाउँपालिकाका साथै कुनै राजनीतिक दल तथा सङ्घ र प्रदेश सरकारको समेत प्राथमिकतामा नपरेपछि देउसीभैलो खेलेर रकम सङ्कलन गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।
बाढी पहिरोका कारण सडक सुविधाबाट गाउँ नै वञ्चित भएपछि गाउँले मिलेर देउसीभैलो कार्यक्रम सञ्चालन गरेका थिए । थामर्जुङमा एक सय ५५ घरपरिवार छन् । यही गाउँमा खेलिएको देउसीभैलोबाट गएको वर्षको तिहारमा १० लाख रुपैयाँ सङ्कलन भएको स्थानीय चन्द्रबहादुर नेपालीले बताउनुभयो । विभिन्न निकायमा सडक स्तरोन्नतिका लागि हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि गाउँवासी आफैँ जुटेर ढलान गरिएको उहाँले बताउनुभयो ।