काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र चलिरहेको मतभेद र आगामी रणनीतिबारे आज पनि शीर्ष नेताहरूसँग छलफल जारी राख्ने भएका छन्। देउवा निवास महाराजगञ्जमा संस्थापन इतर समूहका वरिष्ठ नेताहरूसहितको बैठक निरन्तर भइरहेकाको स्रोतले जनाएको छ।
दिउँसो १ बजे बस्ने छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, तथा नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, डा. शेखर कोइराला र रमेश लेखक सहभागी हुनेछन्। पार्टीभित्रको वर्तमान अवस्थाबारे साझा निष्कर्ष निकाल्ने उद्देश्यले बैठक सुरु गरेको बताइएको छ।
यता संस्थापन समूहका केन्द्रीय सदस्यहरूको आन्तरिक भेला पनि आज नै निरन्तर जारी रहनेछ। प्रतिनिधिसभा निर्वाचनपछि मात्र कांग्रेसको १५औँ महाधिवेशन हुनुपर्ने आफ्नो धारणा दोहोर्याउँदै उनीहरूको बैठक सनराइज क्याफे एन्ड ब्यांक्वेटमा बस्ने कार्यक्रम छ।