नेपाली कांग्रेसभित्र महाधिवेशनलाई लिएर देखिएको असहमतिपछि पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक छलफललाई तीव्र पारेका छन्। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशनको सट्टा विशेष महाधिवेशनको प्रस्ताव अघि सारेपछि देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग परामर्श गरेका हुन्।
बिहीबार साँझ महाराजगञ्जस्थित निवासमा भएको भेटघाटमा महामन्त्रीद्वयको पछिल्लो कदम र त्यसले पार्टीमा पार्न सक्ने प्रभावबारे छलफल भएको सहभागी नेता रमेश लेखकले बताए। उनका अनुसार नेतृत्वले यस विषयलाई गम्भीर रूपमा लिँदै आन्तरिक सल्लाह सुरु गरेको छ।
छलफलका क्रममा सभापति देउवाले नियमित महाधिवेशन हुन नसक्नुको दोष आफ्नो काँधमा थोपर्ने प्रयास भइरहेको संकेत गरेका थिए। विशेष महाधिवेशनको प्रस्तावले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने भन्दै उनले त्यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेका थिए। नियमित महाधिवेशनका लागि मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता किन भन्ने प्रश्न पनि देउवाले उठाएका छन्।
यसैबीच, महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनका लागि गरेका गतिविधिबारे समीक्षा गर्न सभापति देउवाले शुक्रबार बिहान पार्टीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन्।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले महामन्त्रीहरूको भूमिकामाथि छलफल हुने बताएका छन्। उनका अनुसार क्रियाशील सदस्यता टुंग्याउने जिम्मेवारी पाएका महामन्त्रीहरूले काम सम्पन्न नगर्दा नियमित महाधिवेशन प्रभावित भएको हो। तय भइसकेको नियमित महाधिवेशनको मितिपछि विशेष महाधिवेशनको बहस गर्नुको औचित्यमाथि छलफल हुने प्रवक्ता महतको भनाइ छ।