त्रिवि जग्गा विवादमा प्रधानमन्त्री कार्की सक्रिय, मिचिने–बेचिने प्रवृत्ति रोक्न कडा निर्देशन

काठमाडौं :  प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का नाममा रहेको जग्गा फिर्ता ल्याउने कामको अवस्थाबारे विस्तृत जानकारी माग गरेकी छन्। मंगलबार सिंहदरबारमा उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजालसहित त्रिविका पदाधिकारीहरूसँग भएको छलफलमा उनले जग्गा व्यवस्थापनबारे प्रगति सरोकार राख्दै प्रतिवेदन कार्यान्वयनमा भइरहेको कामको विवरण मागिन्।

त्रिवि पदाधिकारीहरूले विश्वविद्यालयका विभिन्न स्थानका जग्गा व्यक्तिले ओगटेर बसेको, कतिपय जग्गा अपचलन भएर गएको र यिनको लगत कायम गर्न सरकारी सहयोग आवश्यक रहेको बताए। उनीहरूले अवैध रूपमा कब्जा हटाउन र सम्पत्ति संरक्षणमा सरकारको सक्रियताको अपेक्षा पनि व्यक्त गरे।

छलफलमा उपस्थित गृहमन्त्री ओमप्रकाश अर्यालले जग्गाको वास्तविक लगत तयार गर्न विश्वविद्यालय स्वयं सक्रिय हुनुपर्ने उल्लेख गर्दै कीर्ते गरेर हडपिएका जग्गाबारे छुट्टाछुट्टै मुद्दा दर्ता गरी सीआइबीलगायत निकायमा कारबाही थाल्न सुझाव दिए।

प्रधानमन्त्री कार्कीले असम्बन्धित समूह र व्यक्तिहरूले त्रिविको जग्गा मिच्ने, बल प्रयोग गरी कब्जा जमाउने तथा बेचबिखनसम्म गर्ने प्रवृत्ति तत्काल रोक्न निर्देशन दिइन। यस्ता गतिविधिमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Comments (0)
Add Comment