काठमाडौँ:सुदूरपश्चिममा एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगीको सङ्कमण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलले पाँच महिनायता प्रदेशमा एक सय ६१ व्यक्ति डेंगी रोगबाट सङ्क्रमित भएको जनाएको छ । तीमध्ये डोटीमा ४९, कञ्चनपुरमा २७, अछाममा ३४ र कैलालीमा १२, बाजुरामा १५, बैतडीमा तीन, बझाङमा चार, दार्चुलामा १३ र डडेल्धुरामा पाँच व्यक्ति सङ्क्रमित भएका छन् ।
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कात्तिक महिनासम्म यस रोगको जोखिम बढी हुने गरेको बताए । उनले भने, ‘असारदेखि कात्तिक महिनामा पानी पर्ने र रोकिनेक्रम निरन्तर भइरहँदा लामखुट्टेको वृद्धिविकास भई सङ्क्रमणको जोखिम बढी रहन्छ । त्यसैले रोकथामका लागि लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने हुन्छ । पालिकाले अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्नेगरेको छ ।’
लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजीगरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्ने जोशीले बताए । गत वर्ष प्रदेशमा डेंगीबाट पीडित तीन व्यक्तिको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा रोकथाममा समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ । सरकारी अस्पतालमा यस रोगका बिरामीको निःशुल्क उपचार हुने गरे पनि समयमा उचारका लागि नआउँदा ज्यानै जानेसम्मको समस्या हुने गरेको छ ।