काठमाडौँ : विश्वभर नेपालीको नाम चिनाउन सफल वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीको मन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।
प्रधानमन्त्री कार्की मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर डा. रुइतलाई आफ्नै नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेकी थिइन्। तर, डा. रुइतले आफ्नो जीवनको प्राथमिकता अझै पनि बिरामी र स्वास्थ्य सेवामै रहेको भन्दै सो प्रस्ताव स्वीकार नगरेका हुन्।
प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै डा. रुइतले भने :
“प्रधानमन्त्रीज्यूले भन्नुभयो— सरकार जटिल अवस्थामा बनेको छ, भित्रै आएर सहयोग गर्नुहोस्। तर म अहिले बिरामीलाई छाड्न सक्ने अवस्थामा छैन। मेरो पहिलो जिम्मेवारी बिरामी हुन्। मन्त्री भएर सहभागी हुन सक्दिन तर बाहिरबाट सकेसम्म सहयोग गर्छु भनेको छु।”
डा. रुइतले सरकारलाई बाहिरबाट आवश्यक सहयोग गर्ने स्पष्ट आश्वासन दिएका छन्। उनले स्वास्थ्य सेवा र समाज सुधारका काममा निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्याए।