काठमाडौँ : विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘आसक्ति’ काठमाडौंमा एक विशेष समारोहमा सार्वजनिक गरिएको छ। कार्यक्रमको आयोजना साहित्यिक पत्रकार संघले गरेको हो, जसमा सांसद डा. अमरेशकुमार सिंह लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
सांसद सिंहले कार्यक्रममा बोल्दै राजनीतिले देशलाई विभाजन गरे पनि साहित्यले समाजलाई जोड्ने भूमिका खेल्नुपर्ने बताए। उनले साहित्यकारहरूलाई आफ्नो सिर्जनाबाट देशलाई एकताबद्ध गर्न आह्वान गरे। महाकाव्यकार खेमनाथ दाहालले उपन्यास ‘आसक्ति’ का पात्रहरूमा क्रूरता र ममताको संयोजन रहेको टिप्पणी गरे।
कार्यक्रममा गायक तथा संगीतकार सागर अधिकारी ‘घायल’ ले डा. उपाध्यायको छोरी बिदाइको गीत ‘आफ्नै’ प्रस्तुत गरे। कलाकार मदनदास श्रेष्ठले ‘महिषासुर’ नाटकको छोटो संवादसहित अभिनय प्रस्तुत गरे। अन्य अतिथिहरूले डा. उपाध्यायको कृतित्व र व्यक्तित्वबारे शुभकामना व्यक्त गरे।
डा. उपाध्यायले समाज र परिवेशका घटनाहरूलाई साहित्यमा उतार्ने प्रयास गर्दै आएको बताए। उनले विश्व कीर्तिमान राख्ने उद्देश्य नभए पनि काम गर्दै जाँदा कीर्तिमान थपिएको उल्लेख गरे। कार्यक्रममा प्रवासमा बसेर नेपाली भाषा र साहित्यको सेवा गरेका साधक विनोद खड्कालाई सम्मान गरियो।
‘आसक्ति’ उपन्यासको सम्पादन कृष्ण भुसाल र भाषा सम्पादन रमेश दाहालले गरेका छन्। कुम्भ छापाखानाबाट प्रकाशित २१२ पृष्ठको यो कृतिको मूल्य २५० रुपैयाँ रहेको छ। डा. उपाध्यायले गीत र संगीतसहित विभिन्न विधामा १५३ विश्व कीर्तिमान राखेका छन्। उनका ‘मझधार’, ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता कृति पाठकमाझ लोकप्रिय छन्। समाजशास्त्रमा विद्यावारिधि गरेका डा. उपाध्यायलाई विदेशका आठ विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेका छन्।