काठमाडौँ : झापाका ठूला सहकारी संस्थाहरूमा पर्याप्त तरलता रहेको पाइएको छ भने साना सहकारीहरू भने तरलता संकटको सामना गरिरहेका छन्। जिल्ला सहकारी संघ झापाले संकलन गरेको २०८२ सालको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार जिल्लाका प्रमुख ठूला सहकारीहरूले न्यूनतम आवश्यकताभन्दा धेरै तरलता कायम गरेका छन्।
सहकारी संस्थामा न्यूनतम १५ प्रतिशत तरलता आवश्यक मानिन्छ। तर, झापाका ठूला सहकारीहरूले ३६ प्रतिशतसम्म तरलता कायम गरेको जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दङ्गाल (भानु) ले जानकारी दिए।
“अहिले ठूला सहकारीहरूमा पैसा थुप्रिएको देखिन्छ तर साना सहकारीहरू भने बचतकर्ता ग्राहकलाई समयमा पैसा फिर्ता दिन सक्ने अवस्थामा छैनन्,” उनले भने, “अब सहकारीहरूले लगानीलाई प्रभावकारी बनाउन दीर्घकालीन योजना ल्याउन आवश्यक छ।”
नेपालकै सबैभन्दा ठूलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था, बिर्तामोडले २०८२ असार मसान्तसम्म ३६.२१ प्रतिशत तरलता कायम गरेको विवरणमा उल्लेख छ, जुन रकम पाँच अर्ब १२ करोड ६१ लाख रुपैयाँ बराबर हो।
अन्य ठूला सहकारीहरूको विवरण हेर्दा पनि उच्च तरलता देखिन्छ:
नेपाल बहुउद्देश्यीय सहकारी संस्था: २४.९५ प्रतिशत (रु २ अर्ब ८४ करोड ६६ लाख)
कर्णाली बचत तथा ऋण सहकारी: १९.५२ प्रतिशत (रु ६८ करोड २५ लाख)
हाम्रो नेपाल बचत तथा ऋण सहकारी: १९.०५ प्रतिशत (रु ३२ करोड ८४ लाख)
सिम्रिक बचत तथा ऋण सहकारी: १७.३२ प्रतिशत तरलता
तर, दङ्गालका अनुसार बिनाधितो ऋण लगानीको दर बढेकाले लगानी जोखिममा पर्दै गएको र त्यो अबको चुनौती हुने बताएका छन्। उनले पछिल्लो समय झापाको सहकारी क्षेत्र सुधारोन्मुख रहेको पनि बताए।
हाल झापामा ७५३ वटा सहकारी संस्थाहरू क्रियाशील छन्, जसले वार्षिक करिब तीन खर्ब रुपैयाँ बराबरको कारोबार गर्ने गरेका छन्।
कोशी प्रदेशमा एक अर्बभन्दा बढी कारोबार हुने १४ वटा सहकारीमध्ये ११ वटा झापामा छन्। बाँकी दुई मोरङमा र एक सुनसरीमा रहेको सचिव दङ्गालले जानकारी दिए।
प्रदेशभर हालसम्म २८ वटा सहकारी संस्थाहरू कारबाहीमा परेका छन् भने तिनमध्ये सात वटा झापाका हुन्।