काठमाडौँ : पोर्चुगल र लिभरपुलका चर्चित स्ट्राइकर डियागो जोटाको निधनले विश्व फुटबललाई गहिरो शोकमा डुबाएको छ। बिहीबार स्पेनको जामोरामा भाइसँग सवार कार दुर्घटनामा परेर २८ वर्षीय जोटाको निधन भएको हो। सोही दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि ज्यान गएको छ।
जामोरास्थित राजमार्गमा टायर पड्किएर गाडी अनियन्त्रित भएपछि उनीहरू दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। डियागो जोटा सन् २०१९ देखि पोर्चुगल राष्ट्रिय टोलीका नियमित सदस्य थिए भने उनका भाइ आन्द्रे पोर्चुगलको दोस्रो डिभिजन क्लबमा खेल्थे।
घटनापछि रोनाल्डो, मेसी, क्लोप, लगायत विश्व फुटबलका चर्चित खेलाडी तथा प्रशिक्षकहरूले सामाजिक सञ्जालमार्फत गहिरो शोक व्यक्त गरेका छन्।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लेखेका छन्, “केही समयअघि मात्र हामी राष्ट्रिय टोलीमा सँगै थियौँ। तिमीले भर्खरै विवाह गरेका थियौ। अब ती सबै कुराले अर्थ राख्दैन। हामी तिमीलाई सदैव सम्झिरहनेछौँ।”
लिभरपुल क्लबले एक विज्ञप्ति जारी गर्दै जोटा र उनका भाइको मृत्यु ‘अकल्पनीय क्षति’ भएको जनाएको छ। क्लबले परिवारको गोपनीयतालाई सम्मान गर्दै तत्काल प्रतिक्रिया जनाउन नसक्ने पनि स्पष्ट पारेको छ।
लिभरपुलका पूर्वप्रशिक्षक योर्गान क्लोपले जोटाको निधनको खबरले आफूलाई ‘विक्षिप्त’ बनाएको बताएका छन्। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले इन्स्टाग्राम स्टोरीमार्फत जोटाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
यसबाहेक, जोटासँग क्लब र राष्ट्रिय टोलीमा खेलेका सहकर्मीहरू र अन्य देशका खेलाडीहरूले पनि शोक सन्देश दिँदै जोटाको सम्झनामा श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।