चुनावी प्रतिबद्धतामा सरकार असफल: कर्णाली मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले केन्द्र सरकारमाथि प्रतिनिधिसभा सदस्य निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्। आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनप्रति सरकार स्पष्ट नभएको उनको भनाइ छ।

शनिबार पुस १९ गते नेकपा (एमाले) सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति–२ को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सुरुमा राजनीतिक दललाई दोष देखाउँदै सरकारले निर्वाचन सार्न खोजेको बताए। अहिले आएर सरकार आफैं चुनाव गर्ने कि नगर्ने भन्ने विषयमा अन्योलमा परेको उनले टिप्पणी गरे।

सरकारको गतिविधिले निर्वाचनप्रति दृढ प्रतिबद्धता नदेखिएको भन्दै कँडेलले सत्तारूढ पक्षको व्यवहारप्रति प्रश्न उठाए। “सरकार चुनाव हुन्छ भन्छ, तर हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थान सीमित गरेर प्रचारप्रसार गर्न रोक लगाइए कसरी चुनाव सम्भव हुन्छ ?” उनले भने।

चुनावी कार्यक्रम र गतिविधिमा अनावश्यक रोक लगाउनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको कँडेलको धारणा छ। उनले एमाले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै पार्टीले सधैं निर्वाचन प्रक्रियाको सम्मान गर्ने स्पष्ट पारे।

तर निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन वातावरण सुनिश्चित गर्ने जिम्मेवारी सरकारकै भएको भन्दै मुख्यमन्त्री कँडेलले त्यसतर्फ गम्भीर हुन आग्रह गरे।

अन्त्यमा उनले संविधान निर्माण, जनआन्दोलन र देशको हितमा एमालेले खेलेको भूमिकाको स्मरण गर्दै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। लोकतान्त्रिक उपलब्धि जोगाउन एमालेको एकता अपरिहार्य रहेको उनको भनाइ छ।

Comments (0)
Add Comment