काठमाडौँ: शिक्षक कल्याण समाजको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार ८० भन्दा बढी चिकित्सकहरुले सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छाडेका छन् । सात वर्षदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै सामूहिकरुपमा उनीहरू काठमाडौं हिँडेका हुन् । उनीहरुले स्वास्थ्य मन्त्रालयमा घेराउ र धर्ना दिन बीपी प्रतिष्ठान छाडेका हुन् ।एकै पटक ८० भन्दा बढी चिकित्सकहरुले प्रतिष्ठान छाडेर काठमाडौं जाँदा प्रतिष्ठानमा उपचार सेवा प्रभावित भएको छ । प्रतिष्ठान छाडेर काठमाडौं जानेहरुमा सिनियर रेजिडेन्ट, एसिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरु रहेका छन् । बिरामी उपचार सेवा गर्ने मुख्य मेरुदण्ड उनीहरु नै हुन् । प्रतिष्ठानमा प्रोफेसर तहका चिकित्सक ३० जनाभन्दा कम रहेकाले उनीहरुबाट मात्र उपचार सेवा दिन नसक्ने अवस्था छ ।
प्रतिष्ठानका डा. मुधुर बस्नेतले देशकै एक प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा रहेको प्रतिष्ठानमा वर्षौंदेखि बढुवाको प्रक्रिया अवरुद्ध हुँदा कतिपय शिक्षकहरुको सात वर्षदेखि बढुवा हुन नसक्दा त्यसकै कारण एकातिर योग्य शिक्षकहरुको पलायन बढ्दो रहेको बताए । कतिपय महत्त्वपूर्ण विभागहरुमा एक जना पनि प्रोफेसर नहुँदा पठनपाठनमा समेत असर पर्न परिरहेको र यही क्रममा शिक्षकहरुको पलायन भइरहेमा छिट्टै प्रतिष्ठानको पठनपाठन र सेवामा गम्भीर ह्रास आउने निश्चित भएकाले देशकै प्रमुख ननप्राक्टिसिङ संस्थालाई बचाउन आन्दोलन गर्न बाध्य भएको बताए ।