गगन थापा : “पुराना नेताले सन्यास लिएको दिन म सबैभन्दा खुसी हुनेछु”

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीति लामो समयदेखि उस्तै अनुहार, उस्तै शैली र उस्तै नेतृत्वको जालोमा अड्किएको आरोप लगाएका छन्। उनका अनुसार, मुलुकको राजनीति “डेलिभरी गर्न नसक्ने ठाउँमा” पुगेर रोकिएको छ।

आइतबार काठमाडौंमा आयोजित युवासँग जनप्रतिनिधि शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वलाई सम्मान जनाउँदै पनि उनीहरू राजनीतिको सक्रिय भूमिकाबाट अलग हुनुपर्ने समय आएको स्पष्ट संकेत गरे।

“यदि आजै देउवा जी, ओली जी र प्रचण्ड जीले ‘हामी अब राजनीतिको अग्रपंक्तिबाट सन्यास लिन्छौं’ भनेर घोषणा गर्नुभयो भने, म नेपालको सबैभन्दा खुसी मानिस हुने थिएँ। यो म अवमूल्यन गरेर भन्न लागेको होइन। उहाँहरूको योगदान ठूलो छ, तर अब यो नेतृत्वको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्ने बेला हो।”

उनले तीनै नेताको विगतको भूमिका र योगदानको प्रशंसा गरे पनि, मुलुकमा परिणाममुखी राजनीति र नयाँ सोचको कार्यान्वयन अब अवरुद्ध भएको दाबी गरे।

थापाले नेपाली राजनीतिप्रति सर्वसाधारणमा वितृष्णा बढ्दै गएको उल्लेख गर्दै यसको कारण “फोहोर जमेको पोखरी” जस्तो बनाएको प्रणाली भएको बताए।
उनले आफ्नो राजनीतिक यात्राको सुरुवाततिर पनि देशको सबैभन्दा ठूला नेतामा देउवा, ओली र प्रचण्ड नै भएको र आज, आफैं ५० वर्षको नजिक पुग्दा पनि, ती नामहरू नै अग्रभागमा रहेकोप्रति असन्तुष्टि जनाए।

उनका अनुसार, लोकतन्त्रमा नेतृत्वको स्वाभाविक प्रतिस्थापन र पुस्ता–परिवर्तन हुनुपर्ने हो, तर नेपालमा पार्टी र राजनीतिको नियन्त्रण त्यही पुरानै संरचनाले मजबुत रूपमा पकड राखेको छ।“पहिले पार्टीमाथि नियन्त्रण, अनि पार्टीमार्फत मुलुकको राजनीति नियन्त्रण — यो प्रवृत्ति नबदलेसम्म सुधार सम्भव छैन,” उनले भने।

थापाले आफ्नो अभिव्यक्तिमा बारम्बार नयाँ पुस्ताको राजनीतिक उदयको आवश्यकता जोड दिए। उनको भनाइमा, नेपाली राजनीतिमा अब ‘पुराना अनुहार’ भन्दा बढी ‘नयाँ दृष्टिकोण र कार्यक्षमता’ चाहिन्छ, जसले जनताले अपेक्षा गरेको विकास, सुशासन र सुधारको ‘डेलिभरी’ गर्न सकोस्।

Comments (0)
Add Comment