खलङ्गामा इकोली जीवाणु फेला

काठमाडौँ : दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक इकोली जीवाणु भेटिएको छ। स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट संकलन गरिएको पानीका नमूनामध्ये चार स्थानमा इकोलीको पुष्टि भएको हो।

स्वास्थ्य कार्यालयका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण इकोली देखिएको हो। पछिल्लो दुई सातादेखि धमिलो पानीको गुनासो बढेपछि परीक्षण गरिएको हो। उनका अनुसार इकोली जीवाणु प्रायः मानव वा जनावरको मलजन्य प्रदूषणबाट फैलिन्छ।

खलङ्गामा महाकाली नगरपालिका–३ स्थित गारकुखोलाबाट पानी ल्याएर डुङ्गरीस्थित ट्याङ्कीमा राखी वितरण गरिँदै आएको छ। तर ट्याङ्कीमा क्लोरिन नराखिएकाले पानी धमिलो र प्रदूषित भएको पाइएको छ। झन्डै एक महिना अगाडि गारकुखोलामै मरेको कुकुरको भिडियो सार्वजनिक भएपछि पानीको स्रोतबारे शंका उठेको थियो।

पानीको मूल स्रोत, प्रशोधन युनिट र धारासम्मको पानीमा इकोली भेटिएको भट्टले जानकारी दिए। उनले उपभोक्तालाई सचेत रहन र पानी उमालेर वा क्लोरिन मिलाएर प्रयोग गर्न सुझाव दिएका छन्। क्लोरिनको मात्रा समेत खानेपानी गुणस्तर मापदण्ड अनुसार नभएको भन्दै सुधारका लागि खलङ्गा सहरी खानेपानी आयोजनालाई निर्देशन दिइएको छ।

स्थानीय तहको प्रतिक्रिया र सुझाव

महाकाली नगरपालिकामार्फत आयोजनालाई पानीको गुणस्तर सुधार गर्न र सरसफाइमा ध्यान दिन भनिएको छ। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार स्रोतको सरसफाइ, पाइपलाइनको निरीक्षण, क्लोरिनको प्रयोग र उपभोक्तालाई सचेत गराउन सन्देश सम्प्रेषण गर्न निर्देशन दिइएको हो।

गुणस्तर परीक्षण प्रक्रिया

पौडेलले असार १५ गते बैठक बोलाई स्थलगत अनुगमन र नमूना संकलनको निर्देशन दिएका थिए। त्यसपछि असार १६ र १७ गते खानेपानी कार्यालय, उपभोक्ता समिति र स्वास्थ्य कार्यालयको टोलीले संयुक्त निरीक्षण गर्दै पानी संकलन गरेको थियो। परीक्षणमा राष्ट्रिय मापदण्डअनुसार पानी अस्वस्थकर रहेको पुष्टि भयो।

खलङ्गाको वडा नम्बर ४ र ५ का झन्डै २,२०० घरधुरीमा गारकुखोलाको पानी वितरण भइरहेको छ। दूषित पानीका कारण स्थानीयको स्वास्थ्यमा असर परिरहेको भन्दै नागरिक समाजका अध्यक्ष महेशराज भट्टले शीघ्र समाधानको माग गरेका छन्।

आयोजनाको समस्या र ढिलाइ

२०७७/७८ देखि सुरु भएको रु २९ करोड लागतको खलङ्गा सहरी खानेपानी आयोजनाको निर्माण कार्य अझै पूर्ण नभएको पाइएको छ। निर्माणको जिम्मा ग्वालेक निर्माण सेवाले लिएको भए पनि काम समयमा सम्पन्न भएको छैन। उपभोक्ता समितिका सचिव खडकसिंह धामीका अनुसार बाँकी काम पूरा नगरी निर्माण कम्पनी सम्पर्कमै नरहेको बताए।

४०० मिटर पाइपलाइन परिवर्तन, सपोर्ट राख्ने, लाइन खुला नराख्नेजस्ता सुझाव कार्यान्वयन नभएकाले आयोजना हस्तान्तरण हुन सकेको छैन।

स्थानीयको अवस्था र सुझाव

डुङ्गरीमा राखिएको फिल्टर प्रणालीले प्रभावकारी रूपमा काम नगरेको गुनासो स्थानीयबाट आएको छ। कुकुर फालिएको भिडियोपछि धेरै स्थानीय मुहानमै पुगेर पानी ल्याउन थालेका छन्। बर्खायाममा थप प्रदूषण बढ्न सक्ने भन्दै स्वास्थ्यकर्मीले पानी उमालेर वा फिल्टर गरेर मात्र पिउन आग्रह गरेका छन्।

Comments (0)
Add Comment