काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समेटिएको कृषि दशकको कार्यान्वयनबाट समृद्धि सम्भव भएको बताउनुभएको छ ।
सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँहरुले कृषि क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई उकास्न सकिने धारणा राख्नुभयो । सांसद वामदेव गौतमले कृषिको व्यावसायिकीकरणबाट नै मुलुकमा व्याप्त बेरोजगारीको समस्या समाधान गर्न सकिने बताउनुभयो ।
नेपालको कृषि भूमि राष्ट्रियकरण गरी सो जग्गामा जडीबुटी, फलफूल, तरकारी तथा पशुपालन व्यवसाय सञ्चालन गर्न सुझाव दिँदै उहाँले अन्तर्राष्ट्रिय तथा घरेलु व्यापारबाट मनग्य आम्दानी गर्न सकिने धारणा राख्नुभयो । किसानका उत्पादन बिक्रीको सुनिश्चितताका साथै प्रत्येक पालिकाको केन्द्रमा अत्याधुनिक बजार विकास गर्न बजेट विनियोजन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद झक्कुप्रसाद सुवेदीले कृषि र सिँचाइलाई एक ठाउँमा राखेर मन्त्रालयको पुनः संरचना गरिनुपर्नेमा जोड दिनुभयो ।