काठमाडौँ : वकिल र डाक्टरले लगाउने कोटहरू केवल पोशाक मात्र होइनन्, ती गहिरो ऐतिहासिक र सांस्कृतिक अर्थ बोकेका छन्। वकिलहरूले कालो कोट लगाउने परम्परा १७ औं शताब्दीमा बेलायतकी महारानी क्वीन मेरीको मृत्यु पश्चात् सुरु भएको हो। राजा विलियम्सले सबै न्यायाधीश र वकिलहरूलाई शोक व्यक्त गर्न कालो गाउन लगाउन आदेश दिए, जुन परम्परा पछि कालो कोटको रूपमा स्थापित भयो।
कालो रंगले गम्भीरता, शक्ति र अनुशासनको प्रतीक मानिन्छ, जसले वकिलहरूलाई पेशागत रूपमा फरक र विश्वसनीय बनाउँछ।
डाक्टरहरूले सेतो कोट लगाउने परम्परा १९ औं शताब्दीको मध्यतिर सुरु भएको हो, जब चिकित्सा विज्ञानमा सुधार आउन थालेको थियो। सेतो रंग शुद्धता, स्वच्छता र विश्वासको प्रतीक हो। सेतो कोटमा दाग स्पष्ट देखिने भएकाले डाक्टरहरूलाई सधैं स्वच्छ रहन सचेत गराउँछ। साथै, बिरामीहरूले सेतो कोट लगाएका डाक्टरहरूलाई देख्दा मानसिक रूपमा शान्ति र आत्मविश्वास महसुस गर्छन्।
यसरी, वकिल र डाक्टरको पोशाकमा लुकेको इतिहास र मनोवैज्ञानिक प्रभावले ती पोशाकहरूलाई मात्र होइन, तिनीहरूको पेशागत पहिचानलाई पनि विशेष बनाएको छ।