काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयको ९७ औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबिचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिए । धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबिच विवाद र अन्योल उत्पन्न भएको थियो । “विश्वविद्यालयले तत्कालै नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच राखिनुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने “त्यस अवधिभित्र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्नेछ । यीलगायत नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्को सिनेट बैठक गरेर निर्णय गरिनेछ । त्यही बैठकमा अन्य चुनौती र कठिनाइका विषयवस्तुलाई पनि छलफलमा राखिनेछ ।”

Comments (0)
Add Comment