काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित र जनमैत्री बनाउन तत्कालै ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।
शनिबार ललितपुरमा आयोजित ‘काठमाडौँ उपत्यका सहरी यातायात प्र णाली गुरुयोजना’ परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनसम्बन्धी सरोकारवाला बैठकमा बोल्दै मन्त्री दाहालले भने, “काठमाडौँ उपत्यका हाम्रो संघीय राजधानी मात्र होइन, यो आर्थिक, प्रशासनिक र सांस्कृतिक रूपमा अत्यन्तै महत्वपूर्ण क्षेत्र हो। तर यहाँको यातायात अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ।”
उनका अनुसार सन् २०१२ मा तयार पारिएको र २०१७ मा अद्यावधिक गरिएको गुरुयोजना कार्यान्वयनमा नआउँदा सवारी चाप, ट्राफिक जाम, सहरी अव्यवस्था र वायुप्रदूषण तीव्र रूपमा बढिरहेको छ। “यातायात अव्यवस्थित हुँदा जनस्वास्थ्य र आर्थिक उत्पादकत्वमा समेत नकारात्मक असर परिरहेको छ,” उनले बताए।
मन्त्री दाहालले थप भने, “अब पनि हामीले निर्णायक निर्णय लिन नसके, उपत्यकाको वातावरण थप बिग्रनेछ र दिगो विकास नै जोखिममा पर्नेछ। यो गुरुयोजना परियोजना मार्फत तत्काल तथा दीर्घकालीन समाधान खोज्ने अब अन्तिम मौका हुनसक्छ।”
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले आफ्नो मन्त्रालय यातायात व्यवस्थापन सुधारका लागि पूर्ण रूपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए। साथै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले काठमाडौँ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात प्रणाली विकास गर्न बहुपक्षीय समन्वय अपरिहार्य रहेको बताए।
बैठकमा सहभागी विभिन्न निकायका विज्ञहरूले गुरुयोजनासम्बन्धी अवधारणापत्र र सुझावहरू प्रस्तुत गरेका थिए।