कांग्रेसका मन्त्रीको अनुशासनहीन हर्कत, पार्टीले कारवाही गरेका व्यक्तिको संरक्षण गर्दै

नवलपरासीः नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री रहेका देवकरण कलवार सन्तुको कार्यशैलीले यतिबेला पार्टीलाई नै लज्जित बनाइदिएको छ । नवलपरासी पश्चिमका सन्तु अहिले प्रदेश सरकारमा बन तथा वातावरण मन्त्री छन् । पार्टीको सिफारिसमा मन्त्री भएका उनको काम भने पार्टीकै अनुशासन विपरीत भएपछि कांग्रेसीजन लज्जित बनेका छन् ।
कांग्रेसले यतिबेला प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष र समानुपातिकका साथै राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि मातहतका समितिलाई निर्देशन दिएको छ। देशका विभिन्न निर्वाचन क्षेत्रबाट कांग्रेसको क्षेत्रीय समितिले धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेका बेला पश्चिम नवलरासीमा मन्त्री सन्तु भने पार्टीले नै कारवाही गरेका व्यक्तिको संरक्षण उभिएका छन् । कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारवाहीमा परेका विक्रम खनालको संरक्षणमा उभिएका छन्, कलवार ।
पश्चिम नवलपरासीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद विनोद चौधरीको नाम एकल सिफारिस गर्न क्षेत्रीय समितिले तयारी गरेका बेला प्रदेश मन्त्री कलवार भने खनालको पक्षमा उभिएका हुन् । विगतमा खनाललाई कारवाही गर्न माग गर्दै पार्टीका शीर्ष नेताको घरदैलो धर्ना दिने देखि पार्टी कार्यालयमा निवेदन दर्ता गराएका उनै मन्त्री अहिले खनाललाई बोक्न थालेपछि कांग्रेसी कार्यकर्ताहरु नै अचम्मित भएका छन् ।
पार्टीले खनालको कारवाही फुकुवा गरेकै छैन, उनी पार्टीको साधारण सदस्यसमेत छैनन्, कांग्रेस क्षेत्रीय समितिका एक पदाकिधकारीले भने, कांग्रेसको सदस्य नै नरहेको व्यक्ति कसरी टिकटका लागि योग्य हुन्छ ? तर मन्त्रीले कुन स्वार्थमा विक्रम खनालको नाममा अडान लिइरहनुभएके छ । त्यो बुझ्न गाह्रो भयो ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको कारवाहीमा परेका व्यक्तिको नाम सिफारिस नगर्न निर्देशन दिइसकेका छन् । पार्टीको कारवाहीसँगै लुम्बिनी प्रदेशको महामन्त्री पद पनि गुमााएका खनालका पक्षमा प्रदेशमन्त्री कलवारको अडान पार्टी अनुशासनविपरीत भएको कांग्रेसको भनाई छ ।
नेपाली कांग्रेसको अनुशासन विभागका संयोजक आनन्द ढुंगानाले पार्टीको कारवाहीको सूचीमा परेका व्यक्ति उम्मेदवार बन्नै नसक्ने दावी गरे । उनले भने, ‘कि त अनुशासन कारवाही फिर्ता भएको हुनुपर्छ नत्र त साधारण सदस्य नै नभएको व्यक्तिको नाम कसरी उम्मेदवारका लागि पार्टीबाट सिफारिस हुन्छ ? यो त अनुशासनहीन काम भयो नि ।’

Comments (0)
Add Comment