काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा सम्बोधन गरिरहेका बेला सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकमा प्रवेश गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा ओलीको सम्बोधन आधा सकिएको बेला देउवा पुगे र बाँकी सम्बोधन ध्यानपूर्वक सुने। सम्बोधनपछि ओली रोस्ट्रमबाट फर्किँदै गर्दा देउवासँग हात मिलाएका थिए।
त्यसपछि दुवै नेता केही समय संसद्मा बसे। मन्त्रीसँग प्रश्नोत्तर सत्र सुरु भएपछि प्रधानमन्त्री ओली, देउवा र उपप्रधान तथा अर्थमन्त्री एकैसाथ बैठक कक्षबाट बाहिरिएका थिए।
सम्बोधनमा ओलीले कांग्रेस–एमाले गठबन्धन आगामी २०८४ सालको निर्वाचनसम्म कायम रहने स्पष्ट संदेश दिए। उनले भने, “राजनीतिक र नीतिगत स्थिरता कायम गर्न तथा बिग्रिएको अर्थतन्त्रलाई सुधार्न संसद्को दुई ठूला दलहरूको समझदारीमा यो सरकार बनेको हो। बलियो गणित भएको यो सरकार आजै वा भोलि ढल्छ भन्ने अस्थिरताको हल्ला देशको हितमा होइन।”
२०८१ असारमा कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बनेका थिए। ७ बुँदे सहमतिअनुसार २०८३ असारमा उनले सत्ता देउवालाई हस्तान्तरण गर्ने उल्लेख छ, जसका लागि ओलीले पहिले नै तयारीको संकेत दिइसकेका छन्।
यस दिन माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बैठकमा अनुपस्थित रहे, यद्यपि संसदीय परम्परा अनुसार प्रधानमन्त्रीको सम्बोधनमा प्रमुख दलका नेताहरू उपस्थित हुने प्रचलन छ।