काठमाडौँ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले राजनीतिक दलहरूसँग बढाएको दूरीका कारण छिट्टै चुनाव हुनेमा आफू आश्वस्त हुन नसकेको बताएका छन्। शनिबार तम्घासमा आयोजित एमालेको जनसभामा सम्बोधन गर्दै उनले सरकारले चुनाव गराउने वातावरण बनाउनभन्दा पनि अनिश्चितता बढाउने कदम चालिरहेको आरोप लगाए।
ज्ञवालीले प्रधानमन्त्रीका नजिक रहेका व्यक्तिहरूले पुराना नेताहरूलाई चुनावमा उम्मेदवारी दिन नपाउने संकेत दिइरहेका तर सरकार मौन बसेको Mention गर्दै यसले चुनाव नै नचाहेको प्रमाणित भइरहेको बताए। उनका अनुसार, राजनीतिक दललाई निषेध गरेर दलीय व्यवस्थामा चुनाव हुन नै असम्भव छ।
उनले भने, “संसद् पुनःस्थापना नहुने, चुनाव पनि नहुने—यस्तो अवस्था आयो भने देश थप संकटतर्फ धकेलिन्छ।”
उपमहासचिव ज्ञवालीले नेकपा एमाले चुनावका लागि तैयार रहेको पुन: स्पष्ट गरे। उनका अनुसार, “एमाले पूर्ण रूपमा तयार छ, तर निष्पक्षता र निर्भयताको ग्यारेन्टी चाहिन्छ।” अहिलेको सरकारले भने आवश्यक राजनीतिक सुनिश्चितता दिन नसकेको उनको आरोप छ।
उनका अनुसार, चुनावको मिति तोकेरै पनि शीर्ष नेताहरूलाई उपत्यकाबाहिर जान नदिने सरकारी अभिव्यक्तिले सरकारले नै चुनाव नचाहेको देखिन्छ।
ज्ञवालीले मुलुक राजनीतिक अस्थिरता र बाह्य हस्तक्षेपको चपेटामा परेको दाबी गरे। साथै, प्रतिनिधिसभा विघटन र वर्तमान सरकार दुवै असंवैधानिक रहेको एमालेको स्पष्ट धारणा पुनः दोहोर्याए।
उनका अनुसार, संविधानको धारा ७६ अन्तर्गतका कुनै पनि संयोजन बिना वर्तमान सरकार गठन भएकाले त्यो संविधानविपरीत छ।
मुलुकमा स्थायित्व र शान्ति कायम गर्न संसद् पुनःस्थापना गरी जेनजी पक्षलाई समेत समावेश गर्ने किसिमको सहमति आधारित सरकार बन्नुपर्ने ज्ञवालीको सुझाव छ। उनका अनुसार, वार्ताबाट माग सम्बोधन गरी त्यसपछि चुनावमा जाने प्रक्रियाबाट समस्या स्वतः समाधानतर्फ जान्छ।