काठमाडौँ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । एमसिए नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई दिएको छ । सबस्टेशनको ३९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको एमसिए नेपालले जनाएको छ ।
नवलपरासीमा आज आयोजित हस्ताक्षर समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत डीन आर. थम्पसनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्नेसन्दर्भमा अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दो एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा यस ४०० केभी नयाँ बुटवल सबस्टेशनले सुधार ल्याउने उनको भनाइ छ ।