उद्योगमन्त्रीद्वारा हेटौंडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन

काठमाडाै: उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न सङ्घीय सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ ।

हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा सङ्घीय सरकारलाई अवगत रहेको बताउनुभयो । उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिँदै उहाँले सङ्घीय सरकारले चरणबद्ध रुपमा गृहकार्य गरिरहेको बताउनुभयो ।

हेसिउली उद्योग व्यवस्थापन समितिले पनि उद्योगमा अनावश्यक खर्च कटौती गरी उद्योगको प्रतिएकाइ लागत न्यूनीकरण गरी प्रतिष्पर्धात्मक बजारमा उपस्थित हुनुपर्ने मन्त्री भण्डारीले जोड दिनुभयो ।

समितिका अध्यक्ष नरेन्द्र भण्डारीले उद्योगका पुराना प्रविधिका मेशिनरी हटाएर नयाँ प्रविधिका मेशिन जडान गरी आफ्नो उत्पादनलाई उपभोक्तामा लैजानुपर्ने बताउनुभयो । अध्यक्ष भण्डारीले हेटौंडा सिमेन्ट उद्योगको उत्पादनको साख उपभोक्ता माझ कायमै रहेकाले उद्योगलाई कुनै पनि हालतमा निरन्तर सञ्चालनमा ल्याउन सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

Comments (0)
Add Comment