उत्तराखण्ड बाढीमा २२ नेपाली बेपत्ता, धादिङका ४ जनाको पनि आशंका

काठमाडौँ : भारतको उत्तराखण्डमा हालै आएको भीषण बाढी र पहिरोमा धादिङका चार जना नेपाली समेत बेपत्ता भएको आशंका गरिएको छ। ज्वालामुखी गाउँपालिका–२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ घटना हुनुअघि परिवारसँग सम्पर्कमा रहे पनि त्यसपछि सम्पर्कविहीन भएका हुन्।

परिवारका सदस्यहरूले उनीहरूको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङमा निवेदन दिएका छन्। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार, गृह मन्त्रालयमार्फत भारतीय दूतावासलाई समेत खोजी र उद्धारका लागि औपचारिक अनुरोध गरिएको छ।

उक्त बाढीमा धादिङका चार जनासहित जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका १ जना नेपाली सम्पर्कविहीन भएका छन्। यससँगै बेपत्ता हुने नेपालीको संख्या २२ पुगेको छ।

साउन २० गते उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको आकस्मिक बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्थानीय पालिकाहरूले नेपालीहरू हताहत भएको सूचना आएको भन्दै परराष्ट्र मन्त्रालयमार्फत तत्काल खोज तथा उद्धार कार्यमा सक्रिय हुन आग्रह गरेका छन्।

Comments (0)
Add Comment