‘आन्दोलनका नाममा चन्दा आतंक’: दुर्गा प्रसाईंको धार्मिक गुरूसँगको गोप्य भेट सार्वजनिक

काठमाडौँ: शान्ति–सुरक्षामा खलल पुग्ने अभिव्यक्ति प्रकरणमा थुनामा रहेका दुर्गा प्रसाईं पक्राउ पर्नुभन्दा केही दिनअगाडिको एक भिडियो सार्वजनिक भएको छ, जसले उनको ‘चन्दा अभियान’बारे नयाँ विवाद खडा गरेको छ। ‘हिमाल न्यूज’ले सार्वजनिक गरेको भिडियोमा प्रसाईं धर्मगुरूहरूको मठमा पुगेका देखिन्छन्, जहाँ उनीहरुले आगामी विरोध कार्यक्रम तथा आर्थिक सहयोगबारे विस्तृत छलफल गरेका छन्।

भिडियोमा माला लगाएर बसेका प्रसाईंले आफू सञ्चालन गर्दै आएको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाइ महाअभियान’ लाई अघि बढाउन धर्मगुरूहरूबाट आर्थिक सहायता मागेको देखिन्छ। उनले नेपालमा राष्ट्रियता र हिन्दू धर्म संकटमा परेको दाबी गर्दै, “यो आन्दोलनलाई सहयोग गर्नुहुन्छ भने तपाईंहरूले के गर्न सक्नुहुन्छ? बिनापैसाले आन्दोलन हुँदैन,” भन्दै खुलेरै चन्दा मागेका थिए।

प्रसाईंले आफूले मागेको पैसा व्यक्तिगत स्वार्थका लागि नभएर ‘देश जोगाउनका लागि’ भएको दाबी गरे। उनका शब्दमा, “यो मेरो अन्तिम लडाइँ हो। यो लडाइँ लड्न मलाई हतियार चाहिएको छ। हतियार भनेको बन्दुक होइन, अहिले मलाई पैसा आवश्यक छ।”

यति मात्र होइन, उनले आफ्नो आन्दोलनलाई बलियो बनाउन देशभरिबाट साधुसन्तहरू समेत परिचालन गर्न धर्मगुरूहरूसँग आग्रह गरेका छन्। भिडियो बाहिर आएपछि प्रसाईंको ‘चन्दा अभियान’ले बैंकदेखि धार्मिक मठसम्म आतंक फैलाएको भन्दै विभिन्न ठाउँमा सवाल उठ्न थालेका छन्।

Comments (0)
Add Comment