आज देशका धेरै स्थानमा वर्षा, उच्च पहाडमा हिमपातको सम्भावना

काठमाडौं : देशका धेरै भागमा आज बिहानैदेखि आकाशमा बादल छाएका छन् र कतिपय स्थानमा वर्षा सुरु भइसकेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल पाँचवटै प्रदेशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशमा अहिले मध्यम वर्षा भइरहेको छ भने कर्णाली, वाग्मती र कोसी प्रदेशका केही भागमा हल्का वर्षा देखिएको छ।

विभागले दिएको पछिल्लो अपडेट अनुसार दिउँसोसम्म गण्डकी, कोसी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली क्षेत्रहरूमा मध्यम वर्षा र हिमपात हुनसक्ने सम्भावना छ।
त्यस्तै, वाग्मती र गण्डकीका उच्च पहाड तथा हिमाली क्षेत्रमा भारी हिमपात हुने पूर्वानुमान गरिएको छ।


पश्चिमी वायु र अरब सागरको प्रभाव

मौसमी विश्लेषकहरूका अनुसार हालको मौसम परिवर्तनको मुख्य कारण पश्चिमी वायुको सक्रियता र अरब सागरमा बनेको न्यूनचापीय प्रणाली हो। यी दुवै कारणले नेपालमा आर्द्रता बढाएर वर्षा र हिमपातको अवस्था बनाएको बताइन्छ।


मौसमविद्हरूले आज दिनभर छाता वा रेनकोट साथमा राख्न र उच्च पहाडी क्षेत्रमा हुनेहरूलाई हिउँ र चिसोबाट सचेत रहन सल्लाह दिएका छन्।

Comments (0)
Add Comment