अस्पताल सेवामा सुधार गर्न नयाँ कार्यविधि लागू

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल सेवाको गुणस्तर सुधार गर्न ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ लागू गरेको छ । यस कार्यविधिको उद्देश्य अस्पताल सेवालाई जनमैत्री, सहज पहुँचयोग्य र प्रभावकारी बनाउनु रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार यो कार्यविधि जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुरूप तयार गरी कार्यान्वयनमा ल्याइएको हो । कार्यविधिले प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने सुनिश्चितता गरेको छ ।

नयाँ व्यवस्थाअनुसार अस्पतालहरूले बिरामीको उपचार अभिलेख तथा फलोअप व्यवस्थापनका लागि एकीकृत विद्युतीय प्रणाली विकास गर्नुपर्नेछ । साथै, प्रयोगशालाबाट हुने परीक्षणको प्रतिवेदन २४ घण्टाभित्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

चिकित्सकहरूले अस्पतालकै फार्मेसीमा उपलब्ध औषधि मात्र सिफारिस गर्नुपर्नेछ भने आवश्यक परेमा बिरामीलाई ‘रिफर स्लिप’सहित सरकारी अस्पतालमा पठाउनुपर्नेछ । अस्पताल फार्मेसीमा दैनिक आवश्यक पर्ने औषधि पर्याप्त मात्रामा मौज्दात राख्नुपर्ने पनि कार्यविधिमा उल्लेख छ ।

यसका साथै, सेवा प्रवाहको समयमा औषधि बिक्री प्रवर्द्धक (एमआर) लाई अस्पताल प्रवेशमा रोक लगाइएको छ, जसले सेवाको पारदर्शिता र अनुशासन कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

Comments (0)
Add Comment