काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष जोहानेस जुटबीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटमा नेपालको समग्र अर्थतन्त्र, सहरी तथा भौतिक पूर्वाधार, पर्यटन, लगानी र वातावरणीय विषयमा व्यापक छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकमा सुधार भएको उल्लेख गर्दै नेपालले नीतिगत, संरचनागत र कार्यान्वयन तहमा उल्लेखनीय प्रगति गरेको बताए। उनले विश्व बैंकले आगामी छ वर्षका लागि तयार पारेको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’ सरकारका प्राथमिकतासँग मेल खाने बताउँदै उक्त फ्रेमवर्कअनुसार आयोजना अघि बढाउन सहकार्य गर्न तयार रहेको जनाए।
उनले प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको वैकल्पिक विकास वित्त परिचालन विधेयकले निजी क्षेत्रसँग मिलेर प्रतिफलमुखी आयोजना अघि बढाउन मार्ग प्रशस्त गर्ने बताउँदै त्यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरे।
यसैबीच उपाध्यक्ष जुटले नेपालको आर्थिक सूचक सुधार सकारात्मक रहेको भन्दै अझै लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले लुम्बिनी र काठमाडौं उपत्यकाको सहरी पूर्वाधार, वातावरणीय प्रदूषण नियन्त्रण तथा आर्थिक वृद्धिका क्षेत्रमा विश्व बैंकले सहयोग गर्ने आश्वासन दिए।
उनका अनुसार वैकल्पिक वित्तीय कानुन बनेपछि पूर्वाधारमा नयाँ लगानीका अवसर खुल्नेछन् र निजी क्षेत्रलाई आकर्षित गर्न विश्व बैंकले सक्रिय भूमिका खेल्नेछ। साथै, उनले नेपालले लगानी र उत्पादकत्व वृद्धिमा विशेष ध्यान दिनुपर्ने सुझाव पनि दिए।