काठमाडौं : नेपाली शेयर बजारमा नयाँ कम्पनीको प्रवेश क्रम बढिरहेको छ। यसै क्रममा अमुदी फुड्स लिमिटेडले सर्वसाधारणका लागि २० लाख कित्ता साधारण शेयर (आईपीओ) सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ ल्याउनेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। यससम्बन्धी सम्झौता सोमबार काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। सम्झौतापत्रमा अमुदी फुड्सका अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरे।
अमुदी फुड्सको कर्पोरेट कार्यालय काठमाडौंको कोटेश्वरमा रहेको छ भने उद्योग चितवनको भरतपुरमा सञ्चालनमा छ। कम्पनीले विभिन्न ब्रान्डका स्न्याक्स उत्पादन गर्दै आएको छ र यसमा विभिन्न क्षेत्रका अनुभवी व्यवसायी, उद्योगपति तथा शिक्षाविद्हरूको लगानी रहेको छ।